१) परिभाषा : – “प्रजातान्त्रिक रूपमा नियन्त्रित अनि संयुक्त स्वामित्व सहितको उद्यममार्फत आ–आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवं आकांक्षालाई पूरा गर्न भनी स्वैच्छिकरूपले संगठित भएका व्यक्तिहरूको स्वायत्त संगठन नै सहकारी हो।”
२) मूल्य : – सहकारी संस्थाहरू आत्मनिर्भर, स्व–उत्तरदायित्व, प्रजातन्त्र, समानता, सामाजिक न्याय तथा ऐक्यवद्धताका मूल्यहरूमा आधारित छन्। आफ्ना संस्थापकहरूको परम्परामा सहकारी संस्थाका सदस्यहरूले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरूको चासो राख्ने नैतिक मूल्यहरूमा विश्वास राख्छन्।
३) सिद्धान्त : – सहकारी सिद्धान्तहरू सहकारी संस्थाहरूद्वारा आफ्ना मूल्यहरूलाई व्यवहारमा उतार्ने मार्गदर्शनहरू हुन्। अन्तर्राष्ट्रिय सहकारी महासंघद्वारा सन् १९९५ मा परिमार्जित निम्न सात सिद्धान्तहरू हालसम्म प्रचलित छन्। माथि उल्लेख गरिएका सहकारीका मूल्यहरूलाई व्यवहारमा उतार्न निम्न सिद्धान्तहरू प्रतिपादन भएका छन्।
१. स्वैच्छिक तथा खुला सदस्यता : –
सहकारी संस्थाहरू स्वैच्छिक संगठन हुन्। यी संस्थाहरूबाट प्राप्त हुने सेवा उपयोग गर्न सक्ने तथा सदस्यताको जिम्मेवारी बहन गर्न चाहने सबै व्यक्तिहरूको लागि सदस्यता खुला रहने गर्छ। यी संस्थाहरूमा लै¨िक, सामाजिक, जातीय, राजनैतिक वा धार्मिक भेदभाव रह“दैन।
सरलीकरण : –
⇒ निर्धारित योग्यता पुगेको कुनै पनि व्यक्तिलाई संस्थाको सदस्य बन्न राजनैतिक, आर्थिक, जातीय र लैङ्गिक विभेद गर्न नहुने।
⇒ सदस्यको हैसियतले वहन गर्नुपर्ने जिम्मेवारी बहन गर्न स्वीकार गर्नुपर्ने।
⇒ संस्थाले उपलब्ध गराउने सेवा उपयोग गर्न तयार हुनुपर्ने।
⇒ सदस्यले संस्थाको सदस्यता त्याग्न चाहेमा सदस्यता त्यागी अलग हुनसक्ने।
⇒ कृत्रिम छेकवार वा बन्देज लगाई सदस्य बन्नबाट वञ्चित गर्न नहुने।
२. सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण : – (दोस्रो सिद्धान्त)
सहकारी संस्थाहरू आफ्ना सदस्यहरूद्वारा नियन्त्रित प्रजातान्त्रिक संगठन हुन्। यी संस्थाका सदस्यहरू आफ्नो संस्थाको नीति तय गर्न र निर्णय गर्नमा सक्रियरूपले सहभागी हुन्छन्। निर्वाचित प्रतिनिधिको रूपमा सेवा गर्ने महिला तथा पुरुषहरू आफ्ना संस्थाहरूका सदस्यहरूप्रति उत्तरदायी हुन्छन्। प्रारम्भिक संस्थाहरूमा एक व्यक्ति एक मतको आधारमा सदस्यहरूको समान मताधिकार हुन्छ भने अन्य तहका सहकारी संस्थाहरू पनि प्रजातान्त्रिक आधारमा गठन गरिन्छन्।
बुँदागत विवरण : –
⇒ एक सदस्य एक मतको पद्धति लागु हुने।
⇒ जतिसुकै शेयर धनी भएपनि सदस्यहरूद्वारा सदस्यहरूको आर्थिक, सामाजिक विकास गर्ने उद्देश्यले गठन हुनेहुँदा सदस्यहरूबाट नै नियन्त्रण गर्नुपर्ने।
⇒ संस्थाका सबै सदस्यहरू संलग्न हुन पाउने साधारण सभाद्वारा संस्थाको नीति निर्माण गरिने।
⇒ सहकारीमा साधारण सभा नै सर्वोच्च अंग हुने हुँदा यसले कार्यपालिका र न्यायपालिकाको कार्य सम्पादन गर्ने गर्छ।
⇒ सदस्यहरू मध्येबाटै साधारण सभाद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा संचालन हुने।
⇒ सदस्य–सदस्य बीच सेवा सुविधामा विभेद नगरिने।
⇒ संस्था संचालन कार्यमा संलग्न प्रतिनिधि व्यक्तिगत रूपले साधारण सदस्यप्रति र सामूहिक रूपमा संचालक समितिप्रति उत्तरदायी हुने।
३. सदस्यको आर्थिक सहभागिता : – (तेस्रो सिद्धान्त)
सहकारी संस्थाका सदस्यहरू आफ्नो संस्थाको पूँजीमा न्यायिक रूपले सहभागी हुन्छन् र सो पूँजीमाथि नियन्त्रण राख्छन्। कम्तिमा यस पूँजीको केही भाग सहकारी संस्थाको साझा सम्पत्ति हुन्छ। यस संस्थामा बचत (नाफा) भएमा सदस्यहरूले आफ्नो सदस्यताको लागि चुक्ता गरेको शेयर पूँजीमा सीमित बचत फिर्ता पाउँछन्। यस अन्तर्गत मुख्यरूपमा निम्न विषयहरू पर्दछन् : –
⇒ सहकारीलाई आर्थिक कारोवार तथा व्यवसाय गर्ने माध्यमको रूपमा स्वीकार गर्ने।
⇒ प्रति शेयर समान मूल्य र एउटा शेयर तथा एकभन्दा बढी शेयर लिने सदस्यको कानूनी हैसियत र स्तर
बराबर हुने।
⇒ सीमित लाभ वितरण गर्ने।
⇒ सदस्यले गरेको कारोबारको आधारमा संरक्षित पू“जी कोषबाट प्रतिफल पाइने।
⇒ कारोवार गर्ने नगर्ने सबै सदस्यहरूलाई बराबर प्रतिफल प्राप्त नहुने।
⇒ बचत (नाफा) बाट जगेडा कोष र अन्य कोषहरू खडागरी प्रभावकारी व्यवस्थापन गर्ने।
४. स्वायत्तता तथा स्वतन्त्रता : – (चौथो सिद्धान्त)
सहकारी संस्थाहरू आफ्ना सदस्यहरूद्वारा नियन्त्रित तथा स्वावलम्बी संगठनहरू हुन्। यी संस्थाहरूले बाह्य श्रोतबाट पूँजी संकलन गर्न सरकार लगायत अन्य संगठनहरूसित सम्झौता गर्दा यी संस्थाहरू आफ्ना सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण तथा आफ्नो स्वायत्तता कायम राख्न सक्ने शर्तमा विश्वस्त हुनुपर्छ।
यसरी सहकारी संस्थाहरू सदस्यहरूद्वारा गठित, संचालित एवं नियन्त्रित स्वायत्त एवं स्वतन्त्र हुन्छन्।
स्वायत्तता भनेको के हो ?
⇒ संस्था बाह्य नियन्त्रण एवं हस्तक्षेपबाट मुक्त हुनु।
⇒ सदस्यहरूद्वारा स्वयं (आन्तरिक) नियन्त्रण र सन्तुलनको व्यवस्था अर्थात् संस्थामा हिनामिना तथा अन्य गलत कार्य भए सदस्यहरू स्वयं जिम्मेवार हुने व्यवस्था।
⇒ संस्थाले अन्य संस्था/व्यक्ति/सरकार सबैसँग निश्चित शर्त र सम्झौताको आधारमा कार्य गर्न चाहिने विनियम आफैं बनाउन सक्ने अधिकार ।
⇒ तर सहकारी संस्थाले उपयोग गर्ने स्वायत्तता र स्वतन्त्रता प्रचलित ऐन, नियम, सहकारी मूल्य अनि सिद्धान्तको परिधिभित्र रही उपयोग गर्नुपर्ने हुन्छ।
५. शिक्षा, तालिम र सूचना : – (पाँचौ सिद्धान्त)
सहकारी संस्थाले आफ्नो विकासमा प्रभावकारी ढंगले योगदान दिन सकोस् भनी आफ्ना साधारण सदस्य, निर्वाचित प्रतिनिधि, व्यवस्थापक र अन्य कर्मचारीहरूलाई शिक्षा तथा तालिम उपलब्ध गराउँछ। यी संस्थाहरूले सहकारीताको प्रकृति तथा लाभबारे सामान्य जनता खासगरी तरुण पुस्ता एवं वैचारिक अगुवाहरूलाई सु–सूचित गर्छन्।
थाहा पाएको विषय सहकारी संस्थाका प्रत्येक सदस्यलाई सहकारी सम्बन्धी शिक्षा, तालिम दिएर योग्य र सक्षम बनाउनु पर्दछ भन्ने मान्यता यो सिद्धान्तले राख्दछ। संस्थामा हुने प्रत्येक क्रियाकलापको जानकारी सदस्यहरूलाई दिनुपर्ने र सदस्यले पनि आफूले संस्थालाई जानकारी दिने दोहोरो सूचना प्रणालीको व्यवस्था लगायत निम्न विषयहरू पर्दछन् : –
⇒ संस्थाले सदस्यहरूलाई आवश्यकता अनुसार सहकारी शिक्षा, व्यावसायिक सीप विकास तथा व्यवस्थापन तालिम प्रदान गर्नुपर्ने।
⇒ सहकारी शिक्षा कोषको व्यवस्था गर्नुपर्ने।
⇒ प्रशिक्षित सदस्यहरूद्वारा संस्थाको समुन्नतिमा योगदान पुग्ने।
⇒ संस्था भित्र र बाहिर सूचना प्रणालीको विकास तथा युग अनुसारको सूचना प्रदान गर्नुपर्ने।
६. सहकारी संस्थाहरू बीच अन्तर–सहयोग : – (छैठौं सिद्धान्त)
सहकारी संस्थाहरूले अति प्रभावकारी रूपमा आफ्ना सदस्यहरूलाई सेवा पुर्याई स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरचनाहरू आपसमा मिलेर सहकारी आन्दोलनलाई सुदृढ गर्छन्।
एउटै मात्र संस्था स्वयंममा पूर्ण हुन कठिन हुने भएकोले सहकारी मार्फत साना स्तरमा गरिने व्यावसायिक क्रियाकलापलाई बढाएर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षमताको विकास गर्न सहकारी–सहकारी बीच परस्पर सहयोग जरुरी हुन्छ।
⇒ प्रारम्भिकदेखि अन्तर्राष्ट्रियस्तरसम्मका सहकारी संजालको विकास गर्ने।
⇒ अन्तरसहयोगको माध्यमबाट अन्य क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षमताको विकास गर्ने।
⇒ स्थानीय सहकारी संघ, जिल्ला सहकारी संघ, केन्द्रीय संघहरू तथा राष्ट्रिय सहकारी संघ हुँदै अन्तर्राष्ट्रिय सहकारी महासंघसम्मको अन्तर सम्बन्धबाट व्यावसायिक क्रियाकलापको दायरा विस्तार गर्ने।
७. समुदायप्रति चासो : – (सातौं सिद्धान्त)
सहकारी संस्थाहरू आफूहरूद्वारा निर्धारित नीतिको आधारमा आफ्ना समुदायहरूको दिगो विकासको लागि कार्य गर्छन। सहकारी संस्थाहरूले समुदायको अभिन्न अंग भएकाले आफ्ना सदस्यहरूका साथै सामुदायिक क्रियाकलापमा सरिक भई सामुदायिक विकासका कार्यहरू गर्नुपर्ने हुन्छ।
⇒ समूहको एकपक्ष कमजोर भए अन्य पक्ष पनि कमजोर हुन जान्छ भन्ने मान्यतालाई यो सिद्धान्तले स्वीकारेको छ।
⇒ समूहको हितकै लागि गठन हुने।
⇒ समुदायप्रतिको सेवा भावले संस्थामा सकारात्मक प्रभाव पार्ने।
⇒ वृक्षरोपण, शिक्षा, स्वास्थ्य, परिवार नियोजन, सरसफाइ, खेतिपाती, कुलो, पाठशाला, धार्मिक सांस्कृतिक पर्वहरूमा सहकारीको सहयोग बढाउने।
⇒ आकस्मिक दुर्घटना/दैवी प्रकोपको समयमा उद्धार तथा पुर्नस्थापनाको कार्यमा सहभागिता बढाउने।
८. आठौं सिद्धान्त : –
सहकारीको परिभाषा एवं सातौं सिद्धान्तसम्म सहकारी सम्बन्धी धेरैजसो कुराहरू समेटिएका छन्, तर यसको महत्वपूण बुँदा सहकारीको ‘गन्तब्य’ बारे व्याख्या गरेको पाइँदैन। सहकारीले गर्ने पैदल, साइकल, मोटरबाइक, ट्रक, ट्रेन, प्लेन आदिमा गरिने यात्राको बारेमा वर्णन गरिएको छ। तर यात्राको गन्तब्य कहाँ गएर टुँगिने हो सोबारे सहकारीका सिद्धान्तहरू मौन छन्। यहाँ अति महत्वपूर्ण सहकारीको गन्तब्यको सम्बन्धमा व्याख्या गर्न खोजिएको छ।
सहकार्यबाट आर्थिक उन्नति मात्र हैन, मानसिक, सामाजिक, भावनात्मक एवं आत्मिक उन्नति समेत हुनसक्छ भन्ने कुराका निम्न दृष्टान्तहरू यहाँ समेट्नुपर्ने खाँचो देखिएको छ।
⇒ साउथ अफ्रिकाको एउटा चिडिया खानामा सिंहको डमरु तथा मृगको बच्चालाई सानैदेखि सँगै हुर्काइएको थियो। डमरु बढेर सिंह भएपछि आफ्नो बालसाथी मृगलाई शिकार गर्नुको साटो ऊसँग–सँगै खेल्न थाल्यो। त्यति मात्र होइन, जब त्यो ठूलो भएको सिंहलाई जंगलमा लगेर छाडियो जंगलका मृगहरूलाई समेत त्यो सिंहले शिकार गरेन। मृगलाई साथी सम्झेर सिंह नजिक जान्थ्यो, तर मृग भने डरले भाग्थे।
सहकार्य वा सहखेल लामो समयसम्म हुँदा सिंह र मृगबीच पनि यति राम्रो घनिष्ठ सम्बन्ध हुन सक्छ।
⇒ साठी/सत्तरी वर्षपूर्व पुलिस गाउँमा जाँदा नेपाली गाउँलेहरू मकै बारी भित्र लुक्थे, तर आज त्यो अवस्था छैन।
⇒ नेपाललाई विश्वसामु चिनाउने टोनी हेगन नेपालका दुर्गम गाउँहरूको यात्राको क्रममा जंगलको बाटो हिंड्दै थिए। गर्मी मौसममा उकालो बाटो चढ्दै गर्दा गर्मी भएपछि उनी ठूलो कट्टुमात्र लगाएर उकालो निक्लँदै गरेको बेला जंगलमा गाईवस्तु चराउन गएका गोठालाहरूले उनको अग्लो र गोरो शरीर देखेपछि, “वनमान्छे, वनमान्छे” भन्दै भाग्दै गरेको स्मृतिलाई ठमेलस्थित Pilgrams’ Hotel मा आफ्नो किताबको विमोचनको अवसरमा उनले सुनाएका थिए। तर आज गोराहरूलाई वनमान्छे नभई लाभप्रद यात्रीको रूपमा हेरिन्छ।
⇒ सानैदेखि सँगै हुर्केका र पढेका भिन्न धर्मावलम्बीहरू आपसी धार्मिक युद्ध हुँदा परिस्थिति अनुसार एक अर्काको घरमा गईकन लुक्ने गरेका उदाहरणहरू संसारभरि भेटिन्छन्।
⇒ कुनै व्यक्ति अर्को व्यक्ति वा समुदायबाट शारीरिक रूपले जति टाढा हुन्छ, मानसिक रूपले पनि त्यत्तिकै टाढा हुन्छ, तर सहकारीले गर्दा सहकार्यमा जुटेका व्यक्तिहरू निरन्तरको सन्निकटताले गर्दा भावनात्मक स्तरमै निकट बन्न पुग्छन्।
⇒ एक्लो मस्तिष्क शैतानको घर भने झैं समूहमा काम नगर्ने व्यक्तिहरू ईर्ष्या, इष, क्रोध जस्ता मानसिक विकारहरू पालेर बसेका हुन्छन्, र अन्ततः मानसिक रोगी बन्न पुग्छन्। मनोविज्ञानमा एउटा : Mixing with Society Therapy छ जस अन्तर्गत एकलमुखि व्यक्तिहरूलाई समाजमुखि बनाउने प्रयास गरिन्छ।
⇒ दक्षिणी रसियाको दुर्गममा पर्ने “अबरवासिया (Abkhasia)” क्षेत्रका धेरैजसो वासिन्दाहरू सय वर्षभन्दा बढी बाँच्ने गरेको रहस्यबारे बुझ्न एकजना अमेरिकी लेखक ड्यान जर्जाकाले अबरवासिया गई त्यहाँ लामो समयसम्म अध्ययन गरेर ‘Methusella’s Factors’ नामको किताब प्रकाशित गरेका छन्। झण्डै ६० वर्षपूर्व प्रकाशित उक्त किताबमा अबरवासियाका वासिन्दाहरू दीर्घजीवि हुनुको प्रमुख कारणहरूबारे निम्न बुँदाहरू लेखिएका छन् : –
१) अबरवासियाका वासिन्दाहरू चिया वगानमा काम गर्दछन्। तिनीहरू चिया वगानमा समूहगत रूपमा काम गर्दछन्।
२) १०९ वर्ष उमेरसम्मका बृद्धहरू गर्मी याममा साताको ४९ घण्टा काम गरेर पूरै ज्याला बुझ्ने गरेको पाइयो।
३) खेती लगाउने, फसल काट्ने, गृह–निर्माण आदि कार्यमा एकजुट भएर सहकार्य साथ पूरा गर्दछन्।
४) महिनामा तीन/चार पटकसम्म बनभोज कार्यक्रमको आयोजना गर्छन्।
५) अतिथि सत्कार (Hospitality) मा अबरवासियाका वासिन्दाहरू सबभन्दा अग्र पंक्तिमा पर्छन्। कुनै पनि व्यक्ति आफ्नो घरमा आउँदा उसलाई स्थानीय चामलबाट बनेको जाँड, स्याउको रक्सी, फलफूल तथा दुधबाट बनेका परिकारहरू पेटभरि ख्वाएर मात्र ऊ किन आएको सोबारे बुझ्न थाल्छन्।
६) अबरवासियनहरू ७०० फीट समुद्रीसतह देखि १००० फीट उँचाइसम्मको भू–भागमा बसोवास गर्छन्।
७) ओंखरका काठले बनाइएका फराकिला बराण्डा भएका दुईतले घरमा उनीहरू बसोवास गर्छन्।
८) ती वासिन्दाहरू सबभन्दा मिलनसार सिंह प्रजाति जस्तै समूहमा मिलेर बस्न रुचाउने, आफू बृद्ध भएको भनी कहिल्यै आराम नगर्ने, सधै सक्रिय भएर काम गर्ने जस्ता कुराहरू उक्त पुस्तकमा समेटिएका छन्। अबरवासियनहरू चिया वगानमा काम गर्दा रहेछन्। चिया वगानमा निश्चय नै समूहमा मिलेर काम गर्नुपर्ने हुन्छ। उनीहरूले गर्ने आतिथ्य सत्कारबाट पनि उनीहरूको सामाजिक व्यत्तित्व कति सामुदायिक भइसकेको रहेछ, सोको पुष्टि हुन्छ। अबरवासियनहरू गठन नगरिएको तर स्वतः स्फूर्त श्रृजित भएको सहकारीको सिद्धान्त अनुसार कार्य गर्दा रहेछन् भन्ने कुरा उनीहरूको अरुसँग गर्ने व्यवहार, दीर्घायु तथा जीवन शैलीबाट पुष्टि हुन्छ। उनीहरूले सहकारीलाई वास्तविक व्यवहारमा प्रयोग गरेका रहेछन्।
⇒ आदत/नशा रक्सी, गाँजा, अफिमको मात्रै लाग्दैन। कुनै व्यक्ति दिनहुँ पिपलको छहारीमुनि गएर केही सातासम्म लगातार बस्ने गर्छ भने उसलाई त्यसै छहारीमुनि बस्ने आदत पर्छ/नशा लाग्छ। त्यस्तै कुनै व्यक्ति अर्को व्यक्ति वा समूहसँग दिनहुँ छलफल गर्न थाल्छ भने उसलाई सोही व्यक्ति वा समूहसँग छलफल गर्ने नशा लाग्छ। त्यसै गरी सहकारीमा सम्मिलित भएर सामूहिक कार्य गर्न थाल्यो भने कालान्तरमा सो व्यक्तिलाई सहकार्य गर्ने नशा लाग्न थाल्छ। समूहगत कार्यमा नशा लाग्नु भनेको नितान्त सकारात्मक एवं सर्वाङ्गीण विकासको निशानी हो।
⇒ विशेषगरी ग्रामीण भेगमा संचालन गरिने सहकारीता भनेको कुनै न कुनै किसिमको सहकार्य गर्नु नै हो। सहकार्यमा लागेकाहरू निरन्तर रूपमा आफ्ना भावना एवं समस्याहरूलाई एकआपसमा साटासाट गर्छन्, र एक अर्काप्रति सह–भाव राख्छन्। उनीहरूका प्रतिद्धन्दी कम, मित्र धेरै हुने गर्छन्। यसरी एकआपसमा साटासाट गरिने अनुभूतिहरू मानस पटलमा भरिएको मयललाई घुन पखाल्न साबुनको काम गर्दछन्। सामाजिक एवं भावनात्मक स्तरमै समृद्धशाली हुन्छन् र दीर्घ जीवन प्राप्त गर्न पुग्छन्।
त्यसैले आठौं सिद्धान्त अनुसार : – व्यक्ति, समुदाय, समाज, देश अनि सिंगो पृथ्वीवासीलाई शारीरिक, मानसिक, आर्थिक, सामाजिक एवं भावनात्मक स्तरमै स्वस्थ्य एवं समृद्धशाली बनाउँदै संसारभरि हुने जातीय, वर्गीय, क्षेत्रीय, धार्मिक एवं राजनीतिक विचार तथा युद्धलाई समूल नष्ट गरी मानव समुदायलाई वास्तविक स्वर्गतुल्य संसारतिर पुर्याउनु नै सहकारीको गन्तब्य हुनेछ।