विश्वका सबैभन्दा धनी व्यक्तिहरू

पुस ११, २०७१-फोब्र्स पत्रिकाले हरेक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ । फोब्र्सले सन् २०१४ मा पनि संसारका धनी व्यक्तिहरूको सूची तयार पारेको छ ।  फोब्र्सद्वारा जारी यो सूचीको पहिलो १० स्थानमा केही अर्बपति लगातार रहँदै आएका छन् ।

यो वर्ष विगतका ३ वर्षदेखि शीर्ष स्थानमा रहँदै आएका कार्लोस स्लिम हेलु तेस्रो स्थानमा धकेलिएका छन् भने बिल गेट्स एकपटक फेरि पहिलो स्थानमा पुगेका छन् । यो वर्षको सूचीमा ३ जना पहिलो पटक प्रवेश गरेका छन् भने गत वर्ष यो सूचीमा रहेका ३ जना बाहिरिएका छन् । सूचीबाट आफ्नो नाम गुमाउनेमा फ्रान्सका बेनार्ड अर्नल्ट, हङकङका लिका सिङ तथा फ्रान्सकै लिलियन बेटेनकोर्ट छन् । नयाँ प्रवेश पाउनेमा अमेरिकाको प्रसिद्ध खुद्रा व्यापार ब्राण्ड वालमार्टका साझेदार क्रिष्टी वाल्टन, जिम वाल्टन तथा एलिस वाल्टन छन् । 

बिल गेट्स
५९ वर्षीय बिल गेट्स अमेरिकी नागरिक हुन् । विगत ३ वर्षदेखि यो सूचीको दोस्रो स्थानमा रहेका बिल गेट्स एकपटक फेरि पहिलो स्थानमा छन् । उनको सम्पत्ति यो वर्ष झन्डै १३ अर्ब डलरले बढेर ८० अर्ब ७० करोड डलर पुगेको छ । बिल गेट्सले आफ्नो सम्पत्तिको ठूलो हिस्सा बिल गेट्स तथा मेलिन्दा गेट्स फाउन्डेसनलाई दान गरेका छन् । बिल गेट्सले आफ्नो आम्दानीको ठूलो हिस्सा विभिन्न सामाजिक कार्यमा लगानी गरेर पर्याप्त चर्चा पाएका छन् । गेट्स तीन सन्तानका पिता हुन् । उनले हार्बर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सफ्टवेयरको व्यापारमा लागेर कलेज छाडेका थिए । उनको माइक्रोसफ्ट कम्पनीबाट उत्पादित अपरेटिङ सिस्टमद्वारा अहिले विश्वका ९४ प्रतिशत कम्प्युटर सञ्चालित छन् ।
वारेन बफेट
८४ वर्षीय वारेन बफेट पनि अमेरिकी नागरिक हुन् । धनीहरूको यो सूचीमा कहिले पहिलो त कहिले दोस्रो हुँदै चौथो स्थानमा झरेका बफेट यो वर्ष दोस्रो स्थानमा उक्लिएका छन् । यो वर्ष उनको सम्पत्ति झन्डै २० अर्ब डलरले वृद्धि भएर ७३ अर्ब ४० करोड डलर पुगेको छ । बफेटले आफ्नो सम्पत्तिको ठूलो हिस्सा बिल गेट्स तथा मेलिन्दा गेट्स फाउन्डेसनलाई दान गरेका छन् । उनले युनिभर्सिटी अफ नेब्रास्काबाट आर्ट्स र साइन्समा  तथा कोलम्बिया युनिभर्सिटीबाट साइन्समा स्नातक गरेका छन् । वित्तीय क्षेत्रमा चर्चित बफेटले सेयर, बैंकिङ एवं बिमा क्षेत्रमा लगानी गरेर यत्रो सम्पत्ति हासिल गरेका हुन् । उनको सेयर अमेरिकन एक्सप्रेस, कोकाकोला, जिलेटजस्ता प्रमुख कम्पनीमा छ । बफेट बिमा कम्पनी प्रमुखसमेत हुन् ।
कार्लोस स्लिम हेलु
विगत ३ वर्षदेखि यो सूचीको पहिलो स्थानमा रहँदै आएका मेक्सिकोका ७४ वर्षीय कार्लोस स्लिम हेलु यो वर्ष तेस्रो स्थानमा झरेका छन् । हेलु मुख्यत: दूरसञ्चार व्यवसायी हुन् । उनको व्यापारले मेक्सिकोमा एकाधिकार नै जमाएको छ । त्यसबाहेक सम्पूर्ण ल्याटिन अमेरिकी क्षेत्रमा समेत उनको प्रभाव छ । उनी खुद्रा व्यापार, बैंकिङ तथा बिमासम्बन्धी कारोबार पनि गर्छन् । यो वर्ष उनको कुल सम्पत्ति २ अर्ब १० करोड डलरले घटेर ७० अर्ब ९० करोड डलर कायम भएको छ । हेलु ६ सन्तानका बुबा हुन् । तीमध्ये ३ छोरा उनको व्यापारमा संलग्न छन् ।
अमान्सियो ओर्टेगा
गत वर्ष पनि अर्बपतिहरूको सूचीको चौथो स्थानमा रहेका स्पेनका ७७ वर्षीय व्यवसायी अमान्सियो ओर्टेगा यो वर्ष पनि चौथो स्थानमै छन् । यो वर्ष उनको कुल सम्पत्ति ४ अर्ब ४० करोड डलरले बढेर ६१ अर्ब ४० करोड डलर पुगेको छ । ओर्टेगा मूलत: खुद्रा व्यापारी हुन् । स्पेनमा उनको जारा नामक स्टोर छ । उक्त स्टोरमा लत्ताकपडादेखि लिएर घरायसी उपभोग्य सामग्रीसम्म पाइन्छ । विश्वका७१ देशमा यस्ता ४ हजारभन्दा बढी स्टोर छन् । त्यसबाहेक ओर्टेगाको ग्याँस, पर्यटन उद्योग, बैंकिङ तथा रियल स्टेटका क्षेत्रमा पनि विभिन्न राष्ट्रमा लगानी छ ।
लरेन्स एलिसन
७० वर्षीय लरेन्स एलिसन अमेरिकी नागरिक हुन् । यो वर्ष उनको सम्पत्ति ७ अर्ब ९० करोड डलरले बढेर ५१ अर्ब १० करोड डलर पुगेको छ । गत वर्ष पनि पाँचौं स्थानमा रहेका एलिसन ओराकल सफ्टवेयरका मालिक हुन् । लरेन्सले सन् १९७७ मा ओराकलको क्षेत्रमा काम गर्न थालेका थिए जुन सन् १९८६ देखि सार्वजनिक प्रयोगमा आएको थियो । एलिसनले युनिभर्सिटी अफ सिकागोमा भौतिकशास्त्र पढेका हुन् । उनले स्नातक नसक्दै बीचमै पढाइ छाडेका थिए ।
चाल्र्स कोच
अमेरिकाका ७९ वर्षीय चाल्र्स कोच संयुक्त रूपमा छैटौं नम्बरका अर्बपति हुन् । यो वर्ष उनको कुल सम्पत्ति ७ अर्ब ३० करोड डलरले बढेर ४१ अर्ब ३० करोड डलर पुगेको छ । गत वर्ष पनि उनी यो सूचीमा संयुक्त रूपमा छैटौं स्थानमै थिए । अमेरिकाको परम्परागत जमिन्दार परिवारबाट आएका चाल्र्स कोचको लगानी अमेरिकाभरि छरिएको छ । उनले अमेरिकामा खुद्रा बजारदेखि होटल व्यवसाय, कृषि र्फम तथा कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरूमा लगानी गरेका छन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्राजुएट कोचले ‘द साइन्स अफ सक्सेस : हाउ मार्केट बेस्ड म्यानेजमेन्ट बिल्ट द वल्र्डस् लार्जेस्ट प्राइभेट कम्पनी’ शीर्षकको पुस्तकसमेत लेखेका छन्, जसमा कोचले आफ्नो परिवारको प्रगतिको कथा प्रस्तुत गरेका छन् ।
डेभिड कोच
अमेरिकाका ७४ वर्षीय डेभिड कोच संयुक्त रूपमा छैटौं नम्बरका अर्बपति हुन् । यो वर्ष उनको कुल सम्पत्ति ७ अर्ब ३० करोड डलरले बढेर ४१ अर्ब ३० करोड डलर पुगेको छ । गत वर्ष पनि उनी यो सूचीमा संयुक्त रूपमा छैटौं स्थानमै थिए । उनी चाल्र्स कोचका भाइ हुन् । चाल्र्स कोचको लगानी पनि अमेरिकाभरि छरिएको छ । उनले अमेरिकामा खुद्रा बजारदेखि होटल व्यवसाय, कृषि र्फम तथा कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरूमा लगानी गरेका छन् । डेभिड म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्राजुएट छन् ।
क्रिस्टी वाल्टन
कुनै बेला अर्बपतिहरूको सूचीमा सदैव अग्र स्थानमा रहने अमेरिकाको वाल्टन परिवारका केही सदस्य यो वर्ष फेरि यो सूचीको पहिलो दसमा अटाएका छन्, जसको नेतृत्व क्रिस्टी वाल्टनले गरेकी छिन् । ५९ वर्षीया क्रिस्टी वाल्टन अमेरिकाको प्रसिद्ध वालमार्ट सुपर मार्केटकी मुख्य सेयरहोल्डर हुन् । क्रिस्टी अमेरिकाको प्रसिद्ध चिल्ड्रेन्स स्कलरसिप फन्डकी सहअध्यक्ष समेत हुन् । यो वर्ष संसारका सर्वाधिक धनीको सूचीको आठौं स्थानमा आएकी क्रिस्टी वाल्टनको कुल सम्पत्ति ४० अर्ब ६० करोड डलर छ ।
जिम वाल्टन
६६ वर्षीय जिम वाल्टन अमेरिकाको प्रसिद्ध वालमार्ट सुपर मार्केटका मुख्य सेयरहोल्डर हुन् । उनी अमेरिकाको आर्भेस्ट बैंक समूहका मुख्य कार्यकारी अधिकृतसमेत हुन् । यो वर्ष संसारका सर्वाधिक धनीको सूचीको नवौं स्थानमा आएका जिम वाल्टनको कुल सम्पत्ति ३९ अर्ब ६० करोड डलर छ । जिम वाल्टन क्रिस्टी वाल्टन तथा एलिस वाल्टनका दाजु हुन् ।
एलिस वाल्टन
६५ वर्षीया एलिस वाल्टन अमेरिकाको प्रसिद्ध वालमार्ट सुपर मार्केटका मुख्य सेयरहोल्डर हुन् । उनी अमेरिकाको क्रिस्टल बि्रजेज म्युजियम अफ आर्टका मुख्य कार्यकारी अधिकृतसमेत हुन् । वर्ष २०१४ मा फोब्र्सको सर्वाधिक धनीको यो सूचीको दसौं स्थानमा आएका एलिस वाल्टनको कुल सम्पत्ति ३८ अर्ब २० करोड डलर छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top